Integrated Green Development Nepal

Banasthali, Kathmandu, Nepal

Main Menu

तनहुँका तीन वटा इट्टा उद्योग बालश्रम मुक्त


2018-05-30

तनहुँका तीन वटा इट्टा उद्योग बालश्रम मुक्त

 
 भञ्ज्याङ समाचारदाता
 दमौली
 १५ जेठ
 

तनहुँमा सञ्चालित तीन वटा इट्टा उद्योगलाई बाल मजदुर मुक्त उद्योग बनाइएको छ । म्याग्दे गाउँपालिकामा सञ्चालित माछापुच्छ्रे, अस्मिता र पोखेरेली इट्टा उद्योगलाई बाल मजदुर मुक्त बताइएको हो । 

बेटर ब्रिक नेपाल परियोजना र एकिकृत हरित विकास नेपालले आइतबार दमौलीमा आयोजना गरेको जिल्ला स्तरीय सरोकारवालाहरुको समन्वय तथा समिक्षा बैठकमा नेपालको ११ वटा उद्योग मध्ये तनहुँका ३ वटा इटा उद्योगमा बालश्रम मुक्त भएको नेपाल गुडविभ फाउण्डेशनबाट प्रमाणिकरण भैसकेको जानकारी गराइएको थियो ।

त्यस्तै, म्याग्देकै मनकामना इटा उद्योग पनि बालश्रम मुक्त उद्योग प्रमाणिकरणको अन्तिम चरणमा पुगेको बताइएको छ । 

एकिकृत हरित विकास नेपालले इट्टा उद्योगका सञ्चालक, मजदुर तथा मजदुरका नाइकेलाई बालश्रम तथा बधुवा मजदुर र वातावरणीय अनुकुलताका विषयमा सचेतना अभिवृद्धि गर्ने, ब्रिज स्कूल कार्यक्रम सञ्चालन, विद्यालय उमेरका बालबालिकालाई नजिकको विद्यालयमा लगेर भर्ना गराउने र भर्ना गरिएका बालबालिकाहरुलाई विद्यालयमा निरन्तरता दिन मोबाइल शिक्षकको व्यवस्था गरी बिहान बेलुका र बिदाको दिनमा कक्षा सञ्चालन एवं अतिरिक्त क्रियाकालाप सञ्चालन गर्दै आएको अध्यक्ष कमलहरी जिसीले जानकारी गराएका छन् । 

यस्तै, एकिकृत हरि विकासले इट्टा उद्योगमा पाँच वर्षन्दा मुनिका बालबालिकाहरुलाई उद्योगमा नै बालविकास केन्द्र स्थापना गरी पठनपाठन तथा हेरचाह गर्ने एवं पोषणयुक्त खाजा खुवाउने, उद्योगमा काम गर्ने मजदुरहरुको काम गर्ने समय र पारिश्रमिक कम्तिमा नेपाल सरकारले तोके बमोजिम बनाउन पहल गर्ने लगायतका कामहरु गर्दै आएको अध्यक्ष जिसीले बताएका छन् । 

इट्टा उद्योगमा काम गर्ने मजदुरको कामलाई सम्मानजनक बनाउन काम गर्ने अवस्थामा सुधार गर्ने, सफा इट्टा उत्पादन तथा बजारिकरण गर्न प्रोत्साहन गर्ने लक्ष्यका साथ परियोजनाले काम गर्दै आएको छ ।

त्यस्तै, परियोजनाले उद्योगी, नाइके, मजदुरलाई तालिम, बालबालिकाहरुलाई विद्यालय भर्ना अभियान, शैक्षिक सामाग्रि, पोशक वितरणर्,र् इसिइसि सेन्टर सञ्चालन लगायतका कार्यक्रमहरु आर्थिक वर्ष२०७३/०७४ मा सञ्चालन गरेको बताइएको छ । 

परियोजनाले आगमि आर्थिक वर्षा जिएफआई गुडविभले संुक्त रुपमा विकास गरेको मापदण्डहरुलाई इट्टा उद्योगीहरुको सहकार्यमा लागु गर्ने, बहुपक्षीय सरोकारवालाहरुसंगको समन्वय र सहकार्यमा विविएन परियोजनालाई प्रभावकारी बनाउने, उद्योगीहरुलाई विशेष बजार विस्तारमा सहयोग गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने नीति तथा रणनीति लिएको बताइएको छ । 

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेल, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशी, स्थानीय विकास अधिकारी बन्द्रीप्रसाद तिवारी, सहायक जिल्ला शिक्षा अधिकारी सूर्य क्षेत्री लगायतले परियोजनाले बालबालिकाको क्षेत्रमा गरेको काम उद्हारणीय भएको चर्चा गरेका थिए। 

त्यस्तै, इट्टा उद्योगीहरु गोविन्दराम पन्थ, केदारनाथ घिमिरे, हर्क बहादुर गुरुङ्गले परियोजनाले सञ्चालन गरेको कार्यक्रमबाट परेको सकरात्मक प्रभाव, व्यवसायीहरुले झेल्नु परेको समस्याका विषयमा चर्चा गरेका थिए।

 

See Our News and Downloads